धानको खैरो फड्के कीरा

Scientific Name: Nilaparvata lugens

क्षति गर्ने बालीहरु: धान

पहिचान

धानको खैरो फड्के धानको प्रमुख शत्रु कीरा हो। यसले धानको पात र आधारमा रस चुसेर खाइ नोक्सानी गर्दछ । धानको फेदमा पानीको सतह माथि बसेको हुन्छ । यसको प्रकोप धेरै भएमा धान वालीलाई पुरै सखाप पार्न सक्छ। वयस्क फड्के कीरा करीब ४ मि.मी लामो हुन्छ र रंग खैरो हुन्छ। पोथी फड्केले पातको आधारमा केराको हाता जस्तो आकृतिका हल्का पहेंला रङ्गका अण्डाहरु झुण्डमा पार्दछ । बच्चाहरु कालो-खैरो रङ्गका र खरानी-नीलो आँखा भएका र पखविहीन हुन्छन। यिनीहरु अत्यन्त खन्चुवा हुन्छन् र फेदतिर बसेर रस चुसेर खान्छन्। यिनीहरुको महजस्तो च्यापच्याप लाग्ने विष्टामा कालो दुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम (२५ डिग्री सेल्सियस) भएको अवस्थामा यो कीराको अण्डावाट बच्चा फड़के कीरा हुन ७-११ दिन लाग्छ भने बच्चा अवस्था १२-२० दिनको हुन्छ। कीराको जीवनचक्र पुरा हुन १९-३१ दिन लाग्दछ। वयस्क फड्के १०-२५ दिन बाँच्छ ।

क्षतिको लक्षण

यस कीराको वयस्क तथा बच्चा दुबैले पातको फेदवाट रस चुसेर खान्छन् । जसका कारण शुरुमा तल्ला पातहरु र पछि माथिल्ला पातहरु पहेला भएर जान्छन् । यसको आक्रमण पछि लागेका बालाहरुमा नभरिएका वा फोस्रा दानाहरु हुन्छन् र उत्पादनमा ह्रास आउँछ । अत्याधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरु मर्छन जसलाई होपर बर्न भनिन्छ । यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ । बढि आद्रता, खेतमा पानी, उष्ण वातावरण, पृथक रोपाइ समय भएको क्षेत्र, नाबो धानवाली, अत्याधिक युरिया मलको प्रयोग यस कीराको बृद्धिको लागि उपयुक्त वातावरण हुन् । कीटनाशक विषादीको अनावश्यक र पटक पटकको प्रयोगले मित्र जीवहरु मर्न गई यसको संख्यामा वृद्धि हुन्छ । छोटो समयमै ज्यादै वृद्धि हुने हुनाले यसको र मित्र जीवहरुको धानको फेदमा र पानीको सतहमा हप्तेपिच्छे अवलोकन गरिरहनु पर्छ । यसले धानमा लाग्ने विभिन्न किसिमका भाइरसजन्य रोगहरु सार्ने माध्यमको रुपमा पनि काम गर्दछ ।

रोकथामका उपाय

धान वालीमा धेरै मित्र जीवहरु (जस्तैः माकुरा, स्त्री स्वभावको खपटे, मिरिडवग आदि) ले यसको संख्या कम गरी धानलाई क्षति हुनवाट बचाउँछन् ।
पकेट क्षेत्रमा पृथक-पृथक समयमा धानको रोपाइ नगर्ने । सकेसम्म एक दुई हप्ता भित्र सबै ठाउँमा रोपाइ सकाउने ।
पहिलेको धानको नाबो हटाउने ।
रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने । नाइट्रोजनयुक्त मलको बढी प्रयोग नगर्ने ।
बाक्लो रोपाइ नगर्ने । धानको बेर्ना कम्तिमा २० X २० से. मी. को फरकमा मात्र रोप्ने । धान गजाँउने बेलामा खेतभित्र हावाखेल्ने वातावरण वनाउने ।
अनावश्यक रूपमा विषादीको प्रयोग गर्नु हुँदैन । कीराको संख्या एक वटा प्रति सरा र मित्रजीवको संख्या यस भन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अपनाउनु पर्छ ।
दुइ तिन पटक सम्म खेतमा पानी एक हप्ता राखी त्यस पछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुख्खा राख्ने गरी सिंचाईको व्यवस्था गर्ने ।
विषादीहरु एजाडीराक्टीन ०.०३% इसी २ मिलि वा एसीफेट ७५% एसपी २ मिलि वा बुप्रोफेजिन २५ % एस.सी १.५ मिलि वा फिप्रोनिल ५ % एस.सी. २-३ मिलि वा इमीडाक्लोप्रीड १७.८ एसएल १ मिलि प्रति ४ लिटर पानीमा कीराको संख्या हेरी एक हप्ताको फरकमा छर्ने। विषादी छर्कदा धानको बिरुवा माथिवाट मात्र होइन, बिरुवाको फेदको भागमा पर्ने किसिमले छर्कनु पर्दछ ।