धानको पहेंलो तथा सेतो गबारो

Scientific Name: Scirpophaga incertulas (Walker) and Scirpophaga innotata

क्षति गर्ने बालीहरु: धान

पहिचान

गबारो धानको महत्वपूर्ण पिराहा कीरा हो । गबारोहरुवाट वर्षेनी करिब १५ प्रतिशतसम्म नोक्सानी हुने गर्दछ । यी दुवै गबारोहरु धानवालीमा नोक्सानी पुर्याउँदछन् । माउ गबारो १ देखि २ से.मी. सम्म लामो हुन्छ । यो पुतली वर्गको कीरा हो जस्को लार्भाले गुवो खाइ नोक्सान पुर्याउछ । लार्भा हलुका पहेंलो रंगको र २ से.मी. सम्म लामो हुन्छ । गबारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा १०० देखि २०० को संख्यामा फूलका थुप्राहरु पार्दछ । नरम रेशमी भुवाले ढाकिएका अण्डाका थुप्राहरु पहेंलो वा सेतो रङ्गका हुन्छन् । अण्डावाट करिब १ हप्तामा लार्भा निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदि खाँदै बढ्छन् । तापक्रम अनुसार ३ देखि ६ हप्तामा पूर्ण विकसित भइ धानको डाँठ भित्रै पातलो रेशमी कोया भित्र अचल अवस्थामा जान्छ। एक देखि दुई हप्तापछि वयस्क पुतली बनेर निस्किन्छ।

क्षतिको लक्षण

डाँठमा गबारोले पारेको प्वाल स्पष्ट देखिन्छ । गाँजहाल्ने अवस्थामा गुबो मरेको हुन्छ र तान्दा सजिले आउँछ । यो लक्षणलाई मृत गुवो भनिन्छ । बाला लाग्ने अवस्थामा गबारोले गुवो खाँदा सेतो बालो वा फुस्रो बाला भएको हुन्छ। यस किसिमको लक्षणलाई सेतो बाला भनिन्छ । गबारोले एउटा सरामा नोक्सान गरिसकेपछि सँगैको अर्को सरा वा गाँजमा पनि प्रवेश गरी नोक्सान पुयउिँदछ ।

रोकथामका उपाय

• धान काटी सकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी एक हप्ता सम्म पानी जमाउने वा धान काट्दा जमिनको सतह छुने गरी काट्ने ।
• धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो (२.५ देखि ३ से.मी.) चुडेर नष्ट गर्ने ।
• माकुरा, लामसिंगे फट्यांग्रा जस्ता मित्र जीवको संरक्षण गर्ने।
• प्रकाश पासोको माध्यमवाट वयस्क पुतलीलाई आकर्षण गरी मानें।
• सकेसम्म पकेट क्षेत्रभरी एकैपटक धानको रोपाई गरिएमा गबारोवाट हुने नोक्सानी कम हुन्छ
• हरेक बर्ष गबारोले नोक्सानी गर्ने ठाउँहरुमा बीउ दर बढाइ प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गबारोवाट हुने नोक्सानी घटाउन सकिन्छ ।
• धान रोपाइ गरेको महिना दिनमा परजीवि कीरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ । ५ से. मी. x १० से. मी. साइजको कार्डमा करीव २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरको लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।
• व्यासिलस थुरिनजीयन्सिस (बि. टी.) ३ ग्राम पानीका दरले छर्ने ।
• गबारोको धेरै प्रकोप (१०% भन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाईड्रोक्लोराइड ४% वा क्लोरान्ट्रानिलीप्रोल ०.४% वा फिप्रोनिल ०.३ जी.आर. दानादार विषादी २५ केजी प्रति हेक्टर वा क्लोरोपाइरीफस २०% ई सी २ मिलि प्रति लिटर पानी वा एसिफेट ७५% एस.पी. १ मिलि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा ५-८ से. मी. पानी पाँच दिनसम्म कायम रहनु पर्दछ ।