फौजी कीरा

Scientific Name: Mythimna Seperata

क्षति गर्ने बालीहरु: धान, मकै, गहुँ, लहरे वालीहरु, काउली वर्गका वालीहरु, आलु, खुर्सानी, गोलभेंडा

पहिचान

फौजी कीरा एक थरिका मझौला आकारका रात्रीचर पुतली समूहका लार्भे हुन्। यसले मकै वालीको अतिरिक्त गहुँ, धान, तरकारी तथा अन्य वालीहरुमा पनि आक्रमण गर्दछ । फौजको जस्तो ठुलो संख्याले एकसाथ आक्रमण गरी प्रायः सम्पूर्ण भागहरु खाने र अर्को खेतमा पनि एक साथ आक्रमण गर्ने भएकाले यो कीरालाई फौजी कीरा भनिएको हो। वयस्क पुतलीको रंग सुन्तले खैरो हुन्छ, अघिल्लो पखेटाको बीच भागमा एउटा प्रष्ट सेतो थोप्ला हुन्छ। यो कीराको अण्डावाट लार्भा हुन ७-९ दिन, लार्भावाट प्युपा हुन ९-२९ दिन र प्युपावाट वयस्क हुन १३-२१ दिन लाग्दछ। यसरी सरदर ३९ देखि ५९ दिनमा जीवन चक्र पूरा गर्दछ। एक वर्षमा ३ देखि ४ पुस्तासम्म तयार हुन्छन् ।

क्षतिको लक्षण

जमिनको सतहमा बसी कलिला बिरुवाको फेद काट्ने, घोगामा प्वाल पार्ने तथा झुण्ड झुण्डमा बसी पातहरु चपाएर खादै एकपछि अर्को खेतमा सर्दै जाने यिनीहरुको प्रमुख क्षतिको रुपमा लिन सकिन्छ । रात्रिचर भएकाले यसको क्षति विशेष गरी रातीमा वा बादलले ढाकेको बेलामा बढी हुने गर्दछ। खडेरी परेको तथा सुख्खा अवस्थामा यसको प्रकोप धेरै हुने गरेको पाइन्छ। यस कीराको धेरै आक्रमण भएको अवस्थामा पूर्णतया नांगिएका बोटहरु देखिन्छ ।

रोकथामका उपाय

  • न्युक्लियर पोलिहेड्रोसीस भाइरस, सेतो दुसी जस्ता जैविक व्यवस्थापनका विधि प्रयोग गरी व्यवस्थापन गर्न सकिन्छ ।
  • माकुरा, क्याराविड खपटे, पेन्टाटोमीडी चुसाहा फौजी कीराका प्राकृतिक शत्रु हुन् । पूर्ण विकसित लार्भेलाई समेत शिकार गर्ने भएकोले यिनीहरुको संरक्षण गर्नु पर्दछ ।
  • ट्याकिनीड झिंगा (फौजी कीराको लार्भाको शरीरमा अण्डा पारीदिन्छ जसवाट निस्किने औसाले सो कीरालाई नष्ट गर्ने गर्दछ), सानो कालो बारुलो (फौजी कीराको लार्भाको शरीरमा अण्डा पर्दछ सो लार्भाको मृत्युपछि यसवाट प्युपा निस्केर खोल बनाई नजिकैको भागमा रहेको हुन्छ) जस्ता मित्रजीवहरुको संरक्षण गर्ने ।
  • वालीको अवशेष नष्ट गर्ने ।
  • कीरा लागेको अवस्थामा सिँचाई गर्दा यसको क्षति कम गर्न सकिन्छ भने पानी पटाउने व्यवस्था भएको ठाँउमा धान काटेपछि खेतमा २-४ दिनसम्म पानी पटाइदिनाले कीराको सो अवस्था नष्ट हुन्छ । साथै फौजीकीराको लार्भाहरु एक प्लटवाट अर्को प्लटमा सर्दै जाने
  • हुनाले आक्रमण भएको प्लटको वरिपरि कुलेसोमा पानी जमाइदिएमा भौतिक अवरोधका कारण सर्न सक्दैनन् ।
  • बत्तिको पासो (लाइट ट्रयाप) को प्रयोग गरि वयस्क पुतलीहरुलाई पासोमा पारी मार्ने । ब्यासिलस थुरिनजियन्सिस (बि.टि.) २ ग्राम प्रति लिटर पानीमा मिसाइ छर्ने ।
  • डेल्टामेथ्रिन २.८% इसी. १-२ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।