धानको पतेरो

Scientific Name: Leptocorisa oratorius

क्षति गर्ने बालीहरु: धान

पहिचान

मुख्य गरी धानवालीमा लाग्ने यो कीराको बच्चा तथा वयस्क दुवै अवस्थाले धान नपसाउँदासम्म बिरुवाको अन्य भागवाट यिनीहरुले रस चुस्दछन् तर बाला लागेपछि सबै कीराहरू बालामा आकर्षित हुन्छन् । वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रंगको हुन्छ । वयस्क पतेरो करीब १९ मि.मी. लम्बाइको हुन्छ । यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ। एउटा पोथीले २०० देखि ३०० वटा सम्म सेता अण्डा माथिल्लो पट्टि मूल नशा नजिकै १ वा २ लहरमा मिसाएर पार्छ । अण्डा परेको ५ देखि ८ दिनमा हरिया बच्चा पतेराहरु निस्किन्छन् । पाँच पटक काँचुली फेरेर २५ देखि ३० दिनमा वयस्कमा परिणत हुन्छन् । एक वर्षमा यसका ४ पुस्ता सम्म निस्किन्छन् ।

क्षतिको लक्षण

पातमा बढी आक्रमण भएमा बोट नै पहेलिने हुन्छ । भर्खर पसाउन लागेको बालावाट रस चुसेमा दाना भित्र दुध भरिन पाउँदैन र दाना फोस्रो हुन्छ । यो अवस्थामा पतेरो लागेको दानाहरु पछि टुक्रिएर कनिका बन्दछ । धानका दानामा पतेरोले चुसेको ठाउँमा काला-खैरा दागहरु देखिन्छन् र अत्याधिक आक्रमण भएको खेतको धानवाट बनेको भातमा समेत पतेरोको गन्ध आउन सक्छ ।

रोकथामका उपाय

खेत भित्र तथा वरपरको झारपात गोडमेल गरी वैकल्पिक आश्रय स्थललाई नष्ट गर्ने ।
एकै समयमा पाक्ने धानका जातहरु छनौट गरी लगाउने ।
यो कीरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतमा बत्ती राखेर त्यसमा आकर्षित गर्ने र नष्ट गर्ने ।
डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैसीको ताजा पिसाबमा कपडा वा जुटको
बोरालाई भिजाएर घोचोमा बाँधी धान खेतको बीचबीचमा लगेर गाड्नु पर्दछ । ट्रयापमा
आकर्षित भएका पतेरोलाई बाहिर पट्टिवाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्ने ।
यो कीराको प्राकृतिक शत्रु बाघे खपटे कीराको संरक्षण गर्ने ।
अत्याधिक आक्रमण भएको अवस्थामा मालाथियन ५०% इसि विषादी २ मिलि प्रति लिटर पानीका दरले वा साइपरमेथ्रिन २५% इसि वा फेनभेलरेट २०% इसि ०.५ मिलि प्रतिलिटर पानीका दरले बिरुवा राम्रोसंग भिज्ने गरी छर्ने ।