सुन्तलाको फल कुहाउने झिंगा (औंसा)

Scientific Name: Bactrocera spp.

क्षति गर्ने बालीहरु: लहरे वालीहरु, गोलभेंडा, सुन्तलाजात फलफूल

पहिचान

सुन्तला वालीमा विभिन्न प्रजातिका फल कुहाउने झिंगाले नोक्सान पुर्याउछन् । यो झिंगा साधारण झिंगा भन्दा केहि ठुलो हुन्छ । यो कीराको छातीको भागमा पहेंलो र गाढा खैरो रंगिन धब्बा हुन्छ । पोथी झिंगाको पेटको अन्तिम भागमा चुच्चो वान्कीको लम्चिलो अण्डा पार्ने अंग स्पष्ट देखिन्छ । औसा १० मिलि लामो र सेतो रंगको हुन्छ । भाले लागेको वयस्क पोथी फलको बोक्रामा आफ्नो तिखो अण्डा पार्ने अंगले छेडेर एक फलमा १५ देखि २० वटा अण्डा पार्दछ । अण्डावाट ४-५ दिनपछि औसा निस्किन्छ । यी औसाहरु ४-१२ दिन पछाडि माटोमा प्युपा वा अचल अवस्थामा जान्छन् । वातावरण अनुकुल भएमा ७-१० दिनमा प्युपा वयस्क झिंगा हुन्छ । जाडोको मौसममा प्युपा माटोमै अचल अवस्थामा रहन सक्छ ।

क्षतिको लक्षण

यो झिंगाले फुल पारेको फलको भाग दागी देखिन्छ । औसा फल छेड्दै र खाँदै भित्र पस्दछ। औसाको बृद्धि संगै फल पहेलिने, कुहिने र बोटवाट झर्ने हुन्छ । झिंगाले आक्रमण गरेका फलहरु भित्र हेर्दा सेतो औसाहरु देखिन्छन् । यो झिंगाले धेरै प्रजातिका फलफुल र तरकारी वालीमा आक्रमण गरेर ठुलो आर्थिक नोक्सानी पुर्याउँछ ।

रोकथामका उपाय

  • कीरा लागेर झरेका फलहरु तत्काल बटुलेर कम्तिमा ६० सेमि गहिरो खाडल खनी नष्ट गर्ने जसले गर्दा औसाहरु मर्दछन् र वयस्क कीरा बन्नवाट रोकिन्छ ।
  • समय समयमा गोडमेल गरि बगैंचा सधैं सफा राख्ने ।
  • हिउँदको समयमा फेद वरिपरिको माटोलाई पल्टाई डल्ला फोर्नाले माटो भित्र अचल अवस्थामा रहेका प्युपा घाम र चराहरुवाट नष्ट हुन्छन् जसले गर्दा आउँदो मौसममा वयस्क झिंगाको संख्यामा कमि हुन्छ ।
  • वर्षा मौसम पछि बोटको ३ मिटर वरिपरि मालाथायन धुलो ५% प्रतिबोट ५० देखि १०० ग्राम छरी माटोलाई हलुका खन्ने । माघ/फागुन महिनामा जमिनको खनजोत गर्दा प्रति रोपनी १ केजी को दरले मालाथायन ५% धुलो प्रयोग गरी निस्किदै गरेका वयस्क झिंगाको व्यवस्थापन गर्न सकिन्छ ।
  • चैत्र-वैशाख देखि कात्तिक-मङ्सिरसम्म मिथाइल यूजिनल वा व्याक्टोसेरा कम्पोजिट फेरोमन ट्रयाप झुण्डाउने । ट्रयापमा कीराको संख्या बढी पर्न थालेमा अन्य व्यवस्थापनका उपाय अपनाउनु पर्छ । फेरोमन ट्रयाप अनुगमनको लागि भए २ र व्यवस्थापनको हिसाबले भए ६ वटा प्रति रोपनीको दरले राख्ने ।
  • पाकेको फर्सी वा प्रोटिनको मिश्रण वा शख्खरको चारा बनाई आकर्षण गर्ने र मालाथायन झोल विषादीले कीराहरू नष्ट गर्न सकिन्छ ।
  • मालाथायन ५०% इसि र हाईड्रोलाइज्ड प्रोटिनमा सख्खर २ ग्राम प्रति लिटरका दरले मिसाइ बोटमा छर्ने ।
  • इमिडाक्लोरपिड १७.८ एसएल ०.२ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने।