केराको गबारो (केराको घुन)

Scientific Name: Odoiporus longicollis / Cosmopolites sordidus

क्षति गर्ने बालीहरु: केरा

पहिचान

केराको गबारो थाम र गानु दुबैमा आक्रमण गर्ने किसिमका हुन्छन् । केराको थामको गबारोको वयस्क खपटे कालो वा रातो रङ्गको १०- १२ मिमि लामो हुन्छ । यसको सुंड निकै लामो हुन्छ । यसको लार्भे सेतो शरीर १० मिमि लामो र रातो टाउको भएको हुन्छ । केराको गानुमा लाग्ने गबारोको वयस्क खपटे चम्किलो कालो हुन्छ ।

लत्रेका पातहरुको माध्यमवाट भित्र पसेर केराको थाममा आफ्नो सुँडले कोत्रेर प्वाल पारी पोथी घुनले त्यसमा अण्डा पार्दछ । गर्मी याममा यो कीराको अण्डावाट लार्भा हुन ३-५ दिन, लार्भावाट प्युपा हुन २६- २८ दिन र प्युपावाट वयस्क हुन २१-२८ दिन लागि ५० देखि ६० दिनमा जीवन चक्र पूरा गर्दछ । लार्भा र प्युपा अवस्था दुवै केराको थाम भित्र व्यतित हुन्छ ।

क्षतिको लक्षण

क्षतिको लक्षण
केराको थाममा लाग्ने गबारोले थाम भित्रभित्रै खोतलेर खाने हुनाले थाम भित्र छिया छिया हुन्छ। बोट पहेंलिन थाल्दछ । साधारण हुरी बतासले पनि बोट ढल्न सक्दछ। उता गानुमा बस्ने गबारोले गानो खाइदिनाले जराहरु कमजोर हुने गर्दछन् । बोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र यदि पसाइ हाले पनि फल/कोसा पुष्ट लाग्दैन ।

रोकथामका उपाय

  • गबारो लागेको गाँजको बिरुवा अन्यत्र रोप्नु हुदैन
  • गबारोले आक्रमण गरेको बोटलाई जरै देखि उखेलेर गानो र थामलाई मसिना टुक्रा टुक्रा पारी नष्ट गर्नुपर्छ वा जलाइ दिनु पर्दछ ।
  • एउटा गाँजमा ३ वटा सम्म मात्र बोट राख्नु पर्दछ। केराको घरी काटे पछि त्यस घरीको थामलाई त्यहि ठाउमा छोड्नु हुदैन। यस्तो थामलाई तुरुन्त फेदैवाट काटेर हटाउनु पर्दछ ।
  • केराको बोटमा लत्रेका वा लत्रन लागेका पातहरु केराको थाम फेदैवाट हटाई गाँजलाई सफा राख्नु पर्दछ ।
  • काम नलाग्ने केराका बोटहरु काटेर टुक्रा टुक्रा पारी केरा बगैचामा यताउति राखिदिनाले त्यसमा गबारोका वयस्क घुनहरु जम्मा हुन्छन् र तिनलाई संकलन गरी नष्ट गर्न सकिन्छ।
  • गबारोको प्रकोप बढी भएमा केराको प्रत्येक गाँजमा क्लोरोपाइरिफस १०% गैडा ३० ग्रामका दरले बोटको वरिपरी छरेर माटोमा मिलाइ दिदा गबारोको नियन्त्रण गर्न सकिन्छ।