गुलाबी तथा धर्के गवारो

Scientific Name: Sesamia inference (Walker) / Chilo partellus (Swinhoe)

क्षति गर्ने बालीहरु: धान

पहिचान

यी गबारोहरु मकै, गहुँ, धान, कोदो, उखु तथा जुनेलो लगायतका खाद्यान्न वालीहरुमा लाग्ने गर्दछन् । यीनका लार्भाहरुले विध्वंसकारी तरिकाले बीरुवामा नोक्सानी गर्दछन् । धर्के गबारोको माउ पुतलीहरु अलिक साना (करीब १.५ से.मी.) हुन्छन्र अगाडीको भागमा सुँड जस्तो आकृति भएका र रौं भएका हुन्छन् भने गुलाबी गवारोको माउ पुतली अलिक मोटो तथा टाउको र छातीमा बाक्लो खैरो रौंहरु रहेका हुन्छन् । धर्के गबारोको लार्भाको पिठ्यूँमा पाँचवटा खैरा धर्साहरु रहेका हुन्छन् भने गुलाबी गबारोको लार्भाको पिठ्यू तर्फ गुलाबी खैरो र तल्लो भागमा सेतो रङ्गको हुन्छ । पूर्ण विकसित लार्भा धर्के गवारोको करीब २.५ से.मी. गुलाबी गबारोको करीब ३ से.मी. लम्बाइका हुन्छन् ।

क्षतिको लक्षण

धर्के गबारोले शुरुमा पातको फेदतर्फ हरियो भाग कोत्रेर खाइ सिसाको झ्यालजस्ता पारदर्शी धब्बाहरु बनाउँदछ र त्यसपछि तिनीहरुले डाँठ वा गुबोमा प्वाल बनाइ भित्रको नरम भाग खान थाल्दछन् । गुलाबी गबारोले बिरुवाको फेद तर्फको भाग र धानचमरको फेदको भाग खान थाल्दछन् । यिनीहरुले कलिलो उमेरको बिरुवा देखि नै आक्रमण गर्न थाल्दछन् । बिरुवाको भित्रीभागमा खाएपछि बिरुवा भाँच्चिने वा ढल्ने हुन सक्दछ । धर्के गबारोले मकैको धान चमर तथा घोगामा समेत आक्रमण गर्दछ ।

रोकथामका उपाय

वाली लिइसकेपछि बाँकी रहेको सम्पूर्ण ठुटा निकाली जलाईदिने अथवा ठुटा डुब्ने गरी एक हप्ता सम्म पानी जमाउने ।
माकुरा, लामासिंगे फट्यांग्रा जस्ता मित्र जीवको संरक्षण गर्ने ।
प्रकाश पासोको माध्यमवाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने ।
सकेसम्म पकेट क्षेत्रभरी एकैपटक वाली लगाएमा गबारोवाट हुने नोक्सानी कम हुन्छ ।
हरेक वर्ष गबारोले नोक्सानी गर्ने ठाउँहरुमा बीउ दर बढाइ प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गबारोवाट हुने नोक्सानी घटाउन सकिन्छ ।
बेर्ना उम्रेको महिना दिनमा परजीवि कीरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ । ५ से. मी. X १० से. मी. साइजको कार्डमा करीव २० हजार ट्राइकोग्रामा रहेको हुन्छ । एक हेक्टरको लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।
व्यासिलस थुरिनजीयन्सिस (बि. टी.) ३ ग्राम पानीका दरले छर्ने ।
गबारोको धेरै प्रकोप (१०% भन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाईड्रोक्लोराइड ४% वा क्लोरान्ट्रानिलीप्रोल ०.४% वा फिप्रोनिल ०.३ जी.आर. दानादार विषादी २५ केजी प्रति हेक्टर वा क्लोरोपाइरीफस २०% ई सी २ मिलि प्रति लिटर पानी वा एसिफेट ७५% एस.पी. १ मिलि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा ५-८ से. मी. पानी पाँच दिनसम्म कायम रहनु पर्दछ । मकै वालीको हकमा दानादार विषादीहरु २-३ दाना प्रति बोटका दरले गुबोमा राख्दा गबारोको नियन्त्रण गर्न सकिन्छ ।