कफीको सेतो गबरो

Scientific Name: Xylotrechus quaddripes

क्षति गर्ने बालीहरु: कफी

पहिचान

नेपालमा कफी वालीलाई हानी पुर्याउने प्रमुख शत्रुको रूपमा रहेको यो कीराको शरीरको लम्बाई १-२ सेमि भएको खपटे वर्गमा पर्ने कीरा जसका अघिल्ला पखेटाहरुमा कालो र सेतो धर्सा भएको सिङ्ग लामो भएको हुन्छ । भाले कीरा पोथी भन्दा साना हुन्छन्। जीवन चक्रको धेरै समय कफीको डाँठ भित्र व्यतित हुने भएकाले यसको नियन्त्रण सहज हुन सकेको छैन । पूर्णकालीन जीवन चक्र भएको कीरा हो जसको अण्डा, गबारो, अचल र वयस्क अवस्था गरी ४ अवस्था हुन्छ । यो कीराको अण्डावाट लार्भा हुन ९-१५ दिन, लार्भावाट प्युपा हुन लगभग ११ महिना र प्युपावाट वयस्क हुन ६-९ दिन लागि करिव १ वर्ष मा जीवन चक्र पूरा गर्दछ । कीराको लार्भा तथा प्युपा अवस्था डाँठ भित्र पूरा हुन्छ ।

क्षतिको लक्षण

गबारो लागेको काण्डको वरिपरिको बोक्रा अलिकति उठेको र चर्केको हुन्छ । पातहरु पहेंलो भइ ओइलाउँछन् र खस्न थाल्दछन् । गबारोले जीवनचक्र पुरा गरी सकेको भए काण्डमा प्वालहरु देखिन्छन् । हाँगालाई विस्तारैभुइँ तिर तान्दा पिटिक्क भाँचिन्छ । अत्याधिक आक्रमण भएको अवस्थामा एक वर्षमा बोट मर्न पनि सक्छ । बोट चिरेर हेर्दा यसले खाएर बनाएको प्वाल आफ्नै विष्टाले भरेको हुन्छ ।

रोकथामका उपाय

  • अराविका जातको कफिमा बढी आक्रमण गर्ने भएकाले अन्य जातहरु लगाउने ।
  • उत्तर मोहडा भएको जमिनको छनौट गरी कफी बगैंचा लगाउने ।
  • बगैचाको सरसफाइमा विशेष ध्यान दिने र माटोमा उपयुक्त चिस्यान कायम राख्ने ।
  • विरुवा लगाउँदा उचित घनत्व कायम गरी चारेतिरवाट हावा खेल्ने वातावरण बनाउने । बाहै महिना छाँया दिने वाली जस्तै कटहर, बडहर, मेवालाई छायाँदार वालीको रूपमा रोप्ने, कफी रोप्नु भन्दा दुई वर्ष अघि छायाँदार विरुवा रोप्ने ।
  • प्रत्येक वर्ष कीराले अण्डा पार्ने समय भन्दा पहिल्यै नै कफी बोटहरुको निरीक्षण गरी कीरा लागेका हाँगाहरुलाई हटाउनु पर्छ। यौन जन्य पदार्थ राखी तयार गरिएको मदानी आकारको (क्रस भेन ट्रयाप) प्रति रोपनी ३ वटाको दरले राखी आकर्षण गराई मार्ने ।
  • निमजन्य विषादी जस्तैः एजाडिराक्टीन १५०० पि पि एम ५ मिलि / प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने ।
  • साइपरमेथ्रिन वा डेल्टामेथ्रिन वा क्लोरपाइरिफस रासायनिक विषादी १-२ मिलि प्रति लिटर पानीका दरले बोट भिज्ने गरी छर्ने ।