सुन्तलाको रातो कत्ले कीरा

Scientific Name: Aonidiella aurantii

क्षति गर्ने बालीहरु: सुन्तलाजात फलफूल

पहिचान

सुन्तला जातका विरुवा तथा अन्य धेरै जातका विरुवाहरुमा यो कल्ले कीरा क्षतिको कारकका रुपमा रहेको छ । शरीरको व्यास करीब २ मिलि मिटर सम्म भएका यिनको रङ्ग सुन्तला जातको डाँठको बोका सँग मिल्दो जुल्दो हुने हुनाले कीरा लागेको हत्तपत्त चिन्न पनि सकिदैन ।
भाले कीराहरू उडेर विभिन्न स्थानमा गइ एकै ठाउँमा बसी रहने पोथीसंग समागम पछि पोथीले एक दिनमा २-३ वटाका दरले १००-१५० वटा सम्म मसिना बच्चा ६ देखि ८ हप्ता भित्रमा पैदा गर्दछ। एक वर्षमा २ देखि ५ पुस्ता सम्म निक्लिन्छन् । यी बच्चाले कलिलो डाँठ, पात वा फलमा आफ्नो तिखो सुँड गाडेर त्यहिं बसी रस चुस्दछन् त्यसैले यो अवस्थालाई सेतो टोपी (whitecap) पनि भन्दछन्। रस चुस्ने अवधि समाप्त भए पछि कीराले काँचुली फेर्दछ, फालेको काँचुली कीराको शरीरसंग टाँसिएको हुन्छ त्यो अवस्थामा कीरा रातो रङ्गको देखिन्छ । यो कीराले कतिपय अवस्थामा भालेसंगको सम्पर्क विना अण्डा पारी बच्चाहरु पैदा गर्दछ।

क्षतिको लक्षण

यो कीराले बिरुवाका जमिन माथिका सबै भाग हाँगा, पात र फलमा चुसेर नोक्सान गर्दछ । पातहरुको भागहरुवाट रस चुसेर खाएको अवस्थामा पात पहेलो हुदै जान्छ र झर्छ । हाँगाहरु टुप्पोवाट सुक्दै जान्छ । कहिलेकाँही पुरै रुख नै सुकेर जान सक्छ, फलमा अत्यधिक संक्रमण भएमा यस्ता फल बेच्न वा खानका लागि अयोग्य बन्दछन् । गृष्म कालिन मौसमको अन्ततिर र वर्षा शुरु हुनु भन्दा अगाडी रुखलाई चिस्यानको एकदमै अभाव भएको अवस्थामा कत्ले संख्या बढ्छ, प्रकोप बढ्छ र क्षति पनि बढी हुन्छ ।

रोकथामका उपाय

  • कीरा लागेका नर्सरीका विरुवाहरु नयाँ बगैंचामा नसार्ने ।
  • क्षति पुगेर झरेका पात र फलहरु जलाएर नष्ट गर्ने ।
  • क्षति पुगेका र मरेका हाँगाहरु काँटछाँट गरी नष्ट गर्ने ।
  • स्त्री स्वभावका खपटे तथा जालीदार पखेटा भएका किराको संरक्षण गर्ने र यिनलाइ आकर्षित गर्न बगैंचाको वरिपरि आकर्षक फूलहरु लगाउने ।
  • निमजन्य बिषादी (एजडीराक्टिन ०.१५%) ५ मि ली प्रति लिटर पानीका दरले मिसाएर प्रति बोट सरदर ३ देखि ५ लिटर प्रति बोटका दरले छर्ने । वा खनिज तेल एटसो १५ मिलि प्रति लिटर पानीका दरले छर्ने ।
  • फाल्गुण र चैत्र महिनामा एक एक पटक डाइमेथोयट ३०% इसी विषादी १.५ मिलि लिटर पानीका दरले छर्ने ।