धान वालीमा लाग्ने फट्यांग्रा

Scientific Name: Hieroglyphus banian

क्षति गर्ने बालीहरु:

पहिचान

धानवालीमा फट्यांग्ग्राको आक्रमणवाट वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ । यो कीराले धानको मूल नशा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरु खान्छन् । उखु, मकै, गहुँमा समेत यसले आक्रमण गरी क्षति पुर्याउन सक्दछ । वयस्क फट्यांग्रा हल्का चम्किलो हरियो पहेंलो रंगको हुन्छ र यसको पखेटा र टाउको माथि ३ वटा कालो रंगको धर्साहरु हुन्छन् । वयस्क फट्याङ्ग्रा सरदर ४०-५० मिमि लामो हुन्छ । अपरिपक्व अवस्था हल्का पहेंलो रंगको हुन्छ र सानो साइजको हुन्छ । पोथी फट्यांग्राले बाँझो जमिन, खेतबारीको डिल तथा ढिस्कोको माटोमा ५-८ सेमि गहिरो प्वाल बनाई भाद्रको मध्यदेखि मङ्सिरसम्ममा ३०- ४० वटाको समुहमा अण्डाहरु पार्ने गर्दछ । अण्डाहरु ८-९ महिनासम्म सुषुप्त अवस्थामा रही मनसुनको सुरुवातसंगै बच्चाहरु जुका जस्तै गरेर माटोवाट बाहिर निस्कन्छन् । यस पछि यिनीहरुले बिरुवाको पातहरु खान सुरु गर्दछन् र ७-८ पटक काँचुली फेरेपछि ७०-८० दिनमा वयस्क हुन्छन् । वयस्कहरु २ महिनासम्म बाँच्दछन् । सामान्यतया एक वर्षमा एक पुस्ता मात्र विकास हुन्छ ।

क्षतिको लक्षण

फट्यांग्राले अण्डावाट निस्कनासाथ धानको पात खान सुरु गर्दछन् । खाँदै काँचुली फेर्दै बढ्दै जान्छन् । अधिक आक्रमण भएमा धानको पातको मूल नशा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरु खान्छन् ।

रोकथामका उपाय

धान खेतका आलीहरु रोपाइ गर्नु अगाडी ताछेर १० देखि १५ सेमि उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ ।
शिकारी कीराहरू जस्तै: ब्लिस्टर बिटल, ग्राउण्ड बिटल र शिकारी किथों कीराहरूको संरक्षण गर्ने ।
मेना चरी लगायतका विभिन्न शिकारी जीवहरूको संरक्षण गर्ने । बढी प्रकोप हुने क्षेत्रहरुमा बाँस वा रुखका हाँगाहरु गाडेर चराहरु बस्ने स्थानको व्यवस्था गर्नु पर्दछ ।
धानको ढुटो (१० भाग), सख्खर ( २ भाग) र विषादी (क्लोरोपाइरिफस १०% इसी (१ भाग) मिसाइ बनाएको विषादी उक्त चारो धानको व्याड लगायत खेतको वरिपरि छर्ने ।
कीराको प्रकोप बढ्दै गएमा मालाथियन १०% इसि २ मिलि वा क्लोरोपाइरिफस २०% इसि २ मिलि वा साइपरमेथ्रिन २५% इसी. ०.५ मिलि प्रतिलिटर पानीका दरले मिसाएर छर्ने ।