अमेरिकन फौजी कीरा

Scientific Name: Spodoptera frugiperda

क्षति गर्ने बालीहरु: धान, मकै, गहुँ, आलु, गोलभेंडा, जुनेलो, तेलहन वालीहरु, प्याज, कपास, भटमास, बदाम

पहिचान

अमेरिकन फौजीकीरा मकै वालीमा लाग्ने पुतली वर्गको रात्रीचर कीरा हो । यो कीरा काउली बन्दामा लाग्ने सुर्तिको लार्भा (Tobacco Caterpillar) सँग धेरै हदसम्म मिल्दोजुल्दो हुन्छ । यसले मकै लगायत ३५३ विभिन्न प्रजातिका बिरुवाहरुमा नोक्सानी पुर्याउन सक्ने तथ्य जानकारीमा आएको छ । यस कीराले मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु, घाँसे वालीहरु, काउली वर्गका तरकारी वालीहरु, तेल वालीहरु, काँक्रो लगायतका लहरे तरकारी, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु वालीहरुमा समेत क्षति पुर्याउन सक्दछ । वयस्क पोथी पुतलीले रातको समयमा सामान्यतया पातको तल्लो सतहमा सरदर १ देखि २ सयको संख्यामा अण्डा पार्दछ । लार्भाको अवस्था आहार तथा तापक्रमको आधारमा १४ देखि २१ दिनसम्म रहन सक्दछ । लार्भा पुर्णरुपमा बिकसित हुन ५ पटक काँचुली फेरेपछि मात्र प्युपा अवस्थामा जान्छ । प्युपा अवस्था ९ देखि १३ दिनसम्मको हुन्छ र अचल अवस्थापछि रातमा वयस्क पुतलीहरु निस्किन्छन् ।

क्षतिको लक्षण

लार्भा अवस्थाले मकैको पात, गुभो, धानचमरा, जूँगा, घोगा तथा डाँठमा समेत क्षति पुर्याउछ । झुण्डमा पारिएका अण्डाहरुवाट निस्कने बित्तिकै सानो लार्भाले शुरुमा वरिपरिको पातको बाहिरी सतहमा मात्र कोत्रेर खान्छ, जसले गर्दा पातमा सिसाको झ्याल जस्तो आकृतिहरु देखिन्छन् । यस्तो प्रकारको क्षतिलाई Papery window भन्ने गरिन्छ । त्यसपछि यी लार्भाहरु आँफैले बनाएको रेसाहरु र हावाको मद्दतले अन्य बोटहरुमा फैलिन्छन् । कलिलो अवस्थाको मकैको गुभोभित्र प्वाल पारी पस्दै खान थाल्दछन् र बिरुवा बढ्दै जाँदा पातमा लहरै स-साना प्वालहरु परेको देख्न सकिन्छ । लार्भाहरु बढ्दै जाँदा परभक्षी स्वभावका समेत हुन्छन् । लार्भाका ६ वटा अवस्थाहरु मध्ये चौथो अवस्थापछिका लार्भाले एकले अर्कोलाई खाने किसिमको स्वभाव देखाउँछन् । कीराको आक्रमण भएको ठाउँमा काठको धुलो जस्तो विष्टा पनि प्रशस्त मात्रामा देखिन्छ । यस कीरावाट अत्याधिक आक्रमण भएको अवस्थामा मकैमा असिनावाट भएको क्षति जस्तै पातहरु छियाछिया भएको देखिन्छ । बिरुवा हुर्कदै जाँदा मकैको धान चमरा, जुंगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्दछ ।

रोकथामका उपाय

  • खेतबारीमा मकै उम्रदेखि नियमित रुपमा अनुगमन गरी कीराको उपस्थिति र सम्भावित क्षतिको आँकलन गर्नुपर्दछ ।
  • मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पुरा घोगा छोपिने जातको मकै लगाउँदा घोगामा हुने नोक्सानी कम गर्न सकिन्छ ।
  • एउटा पकेट क्षेत्रमा सकेसम्म एकैसमयमा र चाँडे मके रोप्ने ।
  • मकैको एकल वाली लगाउनु भन्दा कोशेवाली अन्तरवाली वा मिश्रित वालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ ।
  • बिरुवालाई स्वस्थ र कीराको क्षति सहनसक्ने बनाउन सिफारिश गरिए अनुसार सन्तुलित मलखाँदको प्रयोग, पर्याप्त सिंचाइ र गोडमेल गर्ने ।
  • मकै रोप्नु अघि इमिडाक्लोप्रिड ४८ प्रतिशत एफ एस विषादी प्रति किलोग्राम बीउमा ४ मिलिका दरले बीउ उपचार गरेर रोप्दा शुरुको ३ हप्तासम्मको बिरुवाहरुलाई क्षति हुनवाट बचाउन सकिन्छ ।
  • निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डमा पारिएका अण्डाहरु संकलन गरी नष्टगर्ने ।
  • पातमा सेता लाम्चा झिल्ली सहितका प्वाल हरु देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पी पी एम ५ मिलि प्रति लिटर पानीका दरले मिसाएर छर्ने ।
  • मकैको पातमा लार्भाले क्षति गरेको प्वालहरु तथा गुभोमा क्षतिको लक्षण देखापरेमा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई निम्नानुसारका रासायनिक विषादीहरु आलोपालो गरी विषादी मिसाएको घोल प्रति रोपनी २५ लिटरका दरले प्रयोग गर्नुपर्दछ ।
  • स्पाइनेटोराम ११.७ % एससी १ मिलि प्रति २ लिटर पानीका दरले वा इमामेक्टिन बेन्जोएट ५ % एसजी १ ग्राम प्रति २.५ लिटर पानीका दरले वा क्लोरएन्ट्रानिलीप्रोल १८.५ % एससी १ मिलि प्रति २.५ लिटर पानीका दरले वा स्पाइनोस्याउ (Spinosad) ४५ प्रतिशत एस.सी. १ मिलि प्रति ३ लिटर पानीका दरले मिसाएर छर्ने ।